गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका नाममा भएको विध्वंश र हिंसात्मक घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ।
आयोगको टोलीले भक्तपुरको गुण्डूस्थित उनको निवासमै पुगेर सात दिनभित्र बयान आउनुपर्ने व्यहोराको पत्र थमाएको थियो । तर ओलीले तत्कालै आयोगको टोलीलाई विभिन्न ६० वटा प्रश्नमा केन्द्रित रहेर गुण्डूमै लिखित बयान दिएर पठाएका हुन् ।
पत्र लिएर पुगेको टोलीसँग ओलीले ‘लिखित भनाइ’ दिएको उनको सचिवालयका एकजना सदस्यले बताए । जाँचबुझ आयोगका सदस्य एवम् पूर्वडीआईजी विज्ञानराज शर्माले आइतबार गुण्डूमा पत्र पुगेको बताएका थिए ।
आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न सबैजसोसँग बयान लिइसकेको छ। तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि आयोगले कार्यालयमै बोलाएर बयान लिएको छ। तर ओलीले सिंहदरबारस्थित कार्यालयमा उपस्थित भएर बयान दिन अस्वीकार गरेका थिए ।
ओलीकै अडानअनुसार आयोगको टोली गुण्डूमै पुगेर बयान लिएको हो । करिब ६० वटा प्रश्न सोधिएको भनिए पनि ओलीले दिएको लिखित बयानमा उल्लेखित कुराबारे आयोगका पदाधिकारी र कर्मचारीले कुनै कुरा खुलाएका छैनन् ।
प्रधानमन्त्री ओलीले आयोगलाई उसको कार्यालयमा गएर बयान नदिने अडान राखेका थिए। उनले जाँचबुझ आयोगका संयोजक कार्कीको योग्यता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका थिए ।
कार्कीले आफू आयोगको संयोजक हुनुअघि नै दलका नेताहरू र तत्कालीन सरकारका अधिकारीबारे धारणा बनाइसकेकाले आफ्नो बयान लिन नसक्ने तर्क गर्दै आएका थिए ।

