प्रधानमन्त्री बालेन्द्र शाहले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्नका लागि निर्देशन दिनुभएकाे छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार राति एक पत्र जारी गर्दै निर्देशन तथा स्वदेशी उद्यमी–व्यवसायीहरूसँगको हालैको परामर्शका आधारमा यस्ताे निर्देशन गरिएकाे जनाएकाे हाे। संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नियोगहरूलाई आफ्ना कामकारबाहीमा स्वदेशी वस्तु तथा सेवालाई प्राथमिकता दिन अनुरोध गरिएकाे छ।
स्थानीय सीप र उद्यमको प्रवर्द्धन, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन गर्ने प्रमुख उद्देश्यका साथ सरकारले यो कदम चालेको हो । जारी पत्र अनुसार अबदेखि सबै सार्वजनिक निकायहरूले स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्य वस्तु खरिद गर्दा अनिवार्य रूपमा नेपाली उत्पादन नै रोज्नुपर्नेछ। यसका साथै सरकारी बैठक, औपचारिक समारोह तथा कोसेलीका रूपमा नेपाली हस्तकलाका सामग्रीहरूको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको हाे।
यस व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न सार्वजनिक निकायहरूले आह्वान गर्ने बोल पत्रसम्बन्धी कागजातमा स्वदेशी वस्तुको प्राथमिकता अनिवार्य उल्लेख गर्नुपर्नेछ । साथै, स्वदेशी उत्पादनको प्रयोग भएरनभएको सुनिश्चित गर्न नियमित अनुगमन गरिने र त्रैमासिक रूपमा निरीक्षण गर्ने प्रावधान समेत जारी पत्रमा उल्लेख गरिएको हाे ।

