विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र विवाद तीव्र बनिरहेका बेला २५ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले चाहेअनुसार विशेष महाधिवेशन भएमा त्यसले कांग्रेसलाई विभाजनतर्फ लैजान सक्ने भन्दै सभापति देउवालाई भेटेर उनीहरूले हस्तक्षेप गर्न भनेका हुन् ।
देउवा निवास महाराजगञ्ज पुगेका ती नेताहरूले महामन्त्रीद्वय थापा र शर्माले अघि सारेको विशेष महाधिवेशनको प्रस्तावले पार्टीलाई संकटमा पारेको जिकिर गरे । यही बिहीबारमात्रै महामन्त्रीद्वयले नियमित महाधिवेशनको कार्यतालिका रोकेर विशेष महाधिवेशनको मिति घोषणा गरेका थिए । उनीहरूले भृकुटीमण्टपको हलसमेत बुक गरिसकेका छन् ।
२५ केन्द्रीय सदस्यमध्ये नेतृ पुष्पा भुसालले एक पक्षीय रूपमा विशेष महाधिवेशनमा लैजाँदा पार्टी फुटको जोखिममा परेको सुनाएकी छन् । उनले पार्टीको अभिभावकका रूपमा यसलाई जोगाउने मुख्य जिम्मेवारी सभापति देउवाको भएको बताइन् ।

