नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार काठमाडौंमा बसेको छ।
बबरमहलस्थित कार्की ब्याङ्केटमा दिउँसो पौने ३ बजेदेखि सुरु भएको बैठकलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टी अनुशासन, लोकतन्त्र र संगठन सुदृढीकरणका विषयमा धारणा राखे। उनले एमाले दृढ अनुशासनमा चल्ने पार्टी भएको उल्लेख गर्दै भने, ‘राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो एमाले होइन। हाम्रो पार्टीमा साँच्चिकै दृढ अनुशासन चाहिन्छ।’
देश अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै उनले यसलाई सहज बनाउने जिम्मेवारी एमालेले लिने बताए। प्रजातन्त्र हराउँदा त्रास बढाइएको र लोकतन्त्र मिचिएको भन्दै अब खुला लोकतन्त्रको वकालत गर्ने प्रतिबद्धता व्यक्त गरे।
जेन–जीलाई लक्षित गर्दै ओलीले भने, ‘सिरक ओढेर म जेन–जी भन्दै कसैले तर्साउन खोज्दा एमाले तर्सिँदैन।’ उनले अबको तीन हप्ताभित्र केन्द्रीय कमिटीको अर्को बैठक बस्ने जानकारी दिएका छन् ।

