टप खबर

मतबाट प्रमाणित नेतृत्वः फुयाँल फेरि एमालेको केन्द्रमा

Lumbinikhabar Online

काठमाडौँ । नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशनपछि पार्टीको केन्द्रीय संरचनामा अनुभवी नेतृत्वको उपस्थिति थप मजबुत बनेको छ। प्रतिनिधिहरूको मतबाट रामेश्वर फुयाँल केन्द्रीय भूमिकामा चयन हुनुभएको छ।

राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आउनु भएका फुयाँललाई राजधानी विशेष खुल्ला समूहबाट उल्लेखनीय समर्थन प्राप्त भएको हो। पार्टी संगठन, आन्दोलन र नीतिगत अभ्यासमा निरन्तर संलग्न रहँदै आएका उहाँप्रति प्रतिनिधिहरूले देखाएको विश्वासलाई राजनीतिक स्थायित्वको सन्देशका रूपमा हेरिएको छ।

संविधान निर्माणको ऐतिहासिक चरणदेखि प्रदेश सरकारसम्मको जिम्मेवारी सम्हालिसक्नु भएका फुयाँल व्यवहारिक र कार्यकेन्द्रित नेताका रूपमा परिचित हुनुहुन्छ। विशेषगरी पूर्वाधार विकाससँग जोडिएका काममा उहाँको सक्रियता पार्टीभित्र मात्र होइन, आम नागरिकबीच पनि चर्चामा रहँदै आएको छ।

राजनीतिमा केवल पदभन्दा पनि जिम्मेवारीलाई प्राथमिकता दिने नेताका रूपमा चिनिनु भएका फुयाँलको केन्द्रीय सहभागिताले नीति निर्माण र संगठनात्मक कार्यमा सन्तुलन थपिने अपेक्षा गरिएको छ। जनतासँग प्रत्यक्ष संवाद, संगठन मजबुत बनाउने प्रयास र विकासलाई परिणाममुखी बनाउने अभ्यास उहाँको राजनीतिक पहिचानका रूपमा लिइन्छ।

निर्वाचनपछि फुयाँलले पार्टी पंक्तिप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्तरदायी ढंगले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। नेतृत्वमा अनुभव र व्यवहारिकताको संयोजन आवश्यक रहेको धारणा राख्दै उहाँले पार्टीको मूल लक्ष्य जनताको हित नै भएको स्पष्ट पार्नुभएको छ।

महाधिवेशनको यो निर्णयसँगै एमालेको केन्द्रीय राजनीतिमा अनुभवयुक्त आवाज थप सशक्त हुने अपेक्षा गरिएको छ।

Tags

छुटाउनु भयो कि ?