गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियार चुनावसँग नियन्त्रणमा लिने दाबी गरेका छन् ।
गृह मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कैदीबन्दी र लुटिएका हतियार कारण चुनाव नबिथोलिने बताएका हुन् ।
फरार कैदीबन्दी पक्राउ गर्ने र लुटिएका हतियार बरामद गर्ने क्रम जारी र चुनावसम्म सबै नियन्त्रणमा लिइसक्ने उनले दाबी गरे ।
सुरक्षा गोष्ठीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण भयरहित वातावरणमा चुनाव हुनेमा आशंका गरेका थिए । उनीहरुले गरेको आशंकाको जवाफ दिँदै गृहमन्त्री अर्यालले सोही कारण चुनाव बिथोल्न नदिने बताएका हुन् ।
हतियार र फरार कैदीबन्दीको विषयमा पटक—पटक कुरा उठ्ने गरेको बताउँदै अर्यालले उक्त विषयलाई अतिरिञ्जित बनाउन नहुने बताए ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका ४ हजार ५५२ कैदीबन्दी र बालबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी उनले दिए ।
उनले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग सम्बन्धी जघन्य प्रकृतिका कसुरका फरारको संख्या भने कम रहेको दाबी गरे । फरार अवस्थामा रहेका कैदीबन्दीलाई पक्राउ गर्न विशेष रुपमा अभियान चलाइरहेको पनि उनले बताए ।

