नेपाली कांग्रेसले आगामी माघमा हुने राष्ट्रियसभा र फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि सभापति शेरबहादुर देउवाकै हस्ताक्षर चल्ने गरी दल दर्ता गरेको कुराले नयाँ विवाद सुरू गरेको छ।
आइतबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा दल दर्ता गराउँदा देउवाको हस्ताक्षरलाई आधिकारिक रूपमा पेस गरेपछि नयाँ किचलो देखिएको हो । कांग्रेसले शनिबार मात्रै आगामी दुवै चुनावमा सहभागी हुने निर्णयसहित दल दर्तामा गएको थियो ।
गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आक्रमण परेर गम्भीर घाइते भएका देउवा उपचारका लागि सिंगापुर जानुअघि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक जिम्मेवारी दिएका थिए। तर उनी सिंगापुरबाट फर्किएसँगै पार्टीमा सक्रिय भएका छन् ।
देउवा उपचारमा रहेकै बेलादेखि महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापाले पुरानै नेतृत्वमा चुनावमा जान नमिल्ने अडान लिइरहेका छन् । उनीहरूको नेतृत्वमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको ज्ञापनपत्र सानेपामा दर्ता भएको अवस्था छ ।
यस्तोमा माघ ११ मा हुने राष्ट्रियसभा चुनावका लागि दल दर्ताको अन्तिम दिन कांग्रेस निर्वाचन आयोगमा पुगेको थियो । जहाँ फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि पनि कांग्रेसले दल दर्ता गराएको छ। फागुनको चुनावका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्न पाइने भए पनि कांग्रेसले पहिले नै आफूलाई तयारी हालतमा राखेको हो ।
तर यही विषयलाई लिएर महामन्त्री गगनकुमार थापाले देउवाको नेतृत्व अस्वीकार गरेका हुन् । उनले देउवाको नेतृत्वमा चुनावमा जान नसकिने बताउँदै विशेष महाधिवेशनबाट नयाँ नेता चयन गरिने उल्लेख गरेका छन् ।

