डेडिकेटेड फिडर र ट्रंकलाइन वापतको प्रिमियम शुल्क विवाद विवादित रकमको २८ भागको १ भाग जम्मा गरेर उद्योगमा लाइन जोड्ने र पुनरावलोकनको लागि प्रक्रिया अगाडि बढाउन सम्बन्धित उद्योग सहमत भएका छन् ।
मंगलबार उद्योग वाणिज्य महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोमबार प्रधानमन्त्री सहित सरकारपक्षबीचबाट तय गरेको प्रस्तावमा सम्बन्धित उद्योगी सहमत भएको बताएका हुन् ।
प्रिमियम शुल्क विवादको विषयलाई लिएर लाइन काटिएका उद्योगीहरूको पीडित तथा प्रताडित उद्योग समूहले पनि सोही क्रममा विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पहल गरेर तय गरेको मध्यमार्गी प्रस्तावमा समर्थन रहेको जनाएको छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विवादित रकमलाई धरौटीको रूपमा राख्ने, त्यसपछि लाइन जोड्ने र ती उद्योगीलाई कानुनी उपचारमा जानको लागि मार्ग प्रशस्त गर्नेगरी प्रस्ताव तय भएको बताए । प्रधानमन्त्री, उर्जामन्त्री, अर्थमन्त्री र महासंघका प्रतिनिधिको सहभागितामा उक्त प्रस्ताव आएको उनले बताए ।
तर, उक्त प्रस्ताव लिखित नभएर मौखिक रूपमा तय भएको उनको भनाइ छ ।

