टप खबर

राष्ट्रपति पौडेल जेन–जी पुस्ताको माग बमोजिम सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन तयार

Lumbinikhabar Online

राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका छन्। शीतल निवासमा संविधानविद्सँग परामर्श लिएपछि उनी कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका हुन्। तर संवैधानिक संकटबारे राष्ट्रपति पौडेल गम्भीर बनेका छन्।

संविधानविद्सँगै राष्ट्रपति पौडेल र पूर्व प्रधानन्यायाधीश कार्कीबीच संवैधानिक संकट र निकासको विषयमा वार्ता भएको छ। वार्तामा सहभागी एक अधिकारीका अनुसार कार्कीले संसद् जीवित रहँदै गैरसांसदलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गर्दै पहिले संसद् विघटन गर्नुपर्ने अडान राखेकी छन्।

राष्ट्रपति पौडेल भने संसद् विघटन नगरी पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री कसरी बनाउन सकिन्छ भन्ने छलफलमा सक्रिय छन्। बिहीबार मध्यरातसम्मको छलफलमा विभिन्न विकल्पमा कुरा भए पनि ठोस विकल्प पहिल्याउन नसकेपछि राष्ट्रपति पौडेलले शुक्रबार बिहान संविधानविद्सँग थप छलफल गर्दैछन्। बिहान नौ बजेपछि हुने छलफलमा निकास निस्कने विश्वास संविधानविद्को छ।

शीतल निवासमा राष्ट्रपतिलाई भेट्न संविधानविद् भीमार्जुन आचार्य, विपीन अधिकारी, पूर्णमान शाक्य, चन्द्रकान्त ज्ञवाली, सूर्य ढुंगेल, ललितबहादुर बस्नेतलगायत गएका थिए। अगाडिको भाग जले पनि पछाडितर्फको भाग सामान्य अवस्थामा भएकाले शीतल निवासमा राष्ट्रपतिसँग संविधानविद्ले छलफल गरेका हुन्।

Tags

छुटाउनु भयो कि ?