टप खबर

शेषनागले पृथ्वी बोक्ने कुरा दन्त्य कथा भन्दै प्रचण्डमाथि जनार्दन शर्माको कटाक्ष

Lumbinikhabar Online

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्त्य कथा भइसकेको भन्दै कटाक्ष गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डमाथि प्रहार गरेका हुन् । शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गर्दै उनले शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न आग्रह गरे ।

आज विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्दै अर्को पुष्टि गरिसकेको उनको भनाइ थियो ।

‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्त्य कथा हो । शेषनागले पृथ्वी बोकेको छ,’ शर्माले भने, ‘त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्त्य कथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यसकारणले यो पृथ्वी चल्छ, केही ढल्दैन ।’

प्रचण्डले एउटा कार्यक्रममा आफूले नेतृत्व छोडे धेरै कुरा गर्ल्र्यामगुर्लुम ढल्छ भनेपछि शर्माको यो प्रतिक्रिया आएको हो ।

शर्माले संविधानमा उपलब्ध प्रगति गरेको भएपनि जनताले उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न चुकेको बताए।
उनले थपे, ‘मैले गरेको प्रश्न म आफैँलाई हो। तर मैले आफैँलाई गरेको प्रश्नले अरू तर्सिन्छन् र पो गाह्रो छ। संविधानका धाराहरूले पानामा लेखेका कुराहरू नै उपयोग गर्नेतिर किन जान सकेनौँ।’

Tags

छुटाउनु भयो कि ?