यस वर्षको नाडा अटो प्रदर्शनी आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने भएको छ । नाडा अटो प्रदर्शनीका बारेमा जानकारी दिन आज पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नवप्रवर्तन र भविष्यका लागि यस पटकको प्रदर्शनी फरक बनाउने योजना रहेको बताए ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा एक सय २५ भन्दा बढी प्रदर्शकका १९ वटा चारपाङ्ग्रे सवारी, १३ वटा हल्का व्यावसायिक सवारीसाधन, चार वटा दुईपाङ्ग्रे सवारी र ३५ कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) बिक्रीका लागि राखिने जानकारी गराइएको छ । प्रदर्शनीमा एक लाखभन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ ।
अटो प्रदर्शनीमा युनिट्री रोबोट्सका स्वचालन र कृत्रिम बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपाङ्ग्रे रोबोटहरू मुख्य आकर्षण रहने अध्यक्ष चौधरीले जानकारी गराए । ‘यो प्रदर्शनी मात्र नभइ नेपालको दिगो, आधुनिक र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब हो’, उनले भने ।
प्रदर्शनीमा सुविधाजनक क्षेत्र विभाजन गरी चारपाङ्ग्रे, दुईपाङ्ग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स, वित्तीय सेवालगायत सुविधा र सुरक्षा सुनिश्चित गर्ने व्यवस्था मिलाइएको अध्यक्ष चौधरीले जानकारी दिए ।

