टप खबर

शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थप चर्काउने

Lumbinikhabar Online

नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थप चर्काउने भएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनको २१ औं दिनका लागि आन्दोलनको समय परिवर्तन भएको जानकारी गराउँदै गाउँमा भएका साथीलाई काठमाडौं बोलाउन अनुरोध गरेका हुन्।

अध्यक्ष सुवेदीले भनेका छन्, ‘गाउँघरमा रहेका आफ्ना साथीलाई काठमाडौं बोलाउनुहोला ताकि निर्णायक घडीमा आन्दोलनमा समाहित भएको गौरव उहाँहरुलाई पनि प्राप्त होस्।’

त्यसैगरी उनले महासंघले गर्दै आएको काठमाडौं केन्द्रित आन्दोलनको समय हेरफेर गरेको जानकारीसमेत गराएका छन्।

महासंघले बिहान ९ बजेदेखि आन्दोलन गर्दै आएकोमा बुधबारदेखि भने बिहान ११ बजेदेखि सुरु गरेर दिउँसो २ बजेसम्म प्रदर्शन गर्ने जानकारी गराएका हुन्।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका अधिकांश शिक्षक चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। शिक्षक आन्दोलनकै कारण कक्षा ११ को परीक्षा सरकारले वैशाख २१ गतेदेखि गर्नेगरी सारेको छ।

Tags

छुटाउनु भयो कि ?