सिंहदरबारबाट पक्राउ गरिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेतालाई काठमाडौं प्रहरी परिसरमा लगिएको छ ।
सिंहदरबारको संसदीय दलबाट निस्केपछि प्रहरीले अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको थियो । सिंहदरबारमै प्रदर्शन गर्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
सिंहदरबारमा पक्राउपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले भने सरकारले मानिसको बोल्ने, लेख्ने र प्रदर्शन गर्ने अधिकारलाई खुम्च्याउँदै लगेको बताए ।
अध्यक्ष लिङ्देनले तीनकुने घटनाबारे छानबिन गर्न न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, राप्रपाका नेताहरूको रिहाइ हुनुपर्ने माग गरेका छन् । उनले सरकार जनताबाट टाढा हुँदै गएको बताए । उनले भने, ‘जनताबाट सरकार टाढा हुँदैछ । सरकारले सुनोस् भनेर सिंहदरबारबाट प्रदर्शन गरिएको हो । आज सुनाउन खोजेका छौँ ।’
सरकारले उनीहरूलाई पक्राउ गर्नुअघि नै अन्य नेता ,कार्यकर्ता भने नयाँ बानेश्वरमा भेला भइसकेका थिए । भेला भएका नेता र कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेका थिए ।

