टप खबर

कांग्रेसका प्रमुख सचेतक घिमिरेले संसद्‌मा आफूले दिएको अभिव्यक्ति प्रति मागे माफी

Lumbinikhabar Online

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‌मा आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा घिमिरेले चैत ३ गते संसद्‌मा दिएको अभिव्यक्ति व्यक्तिगत धारणा भएको भन्दै माफी मागेका हुन् ।

“यही चैत ३ गते विशेष समयमा मैले सदनमा राखेको धारणा विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हो । यो धारणा नेपाली कांग्रेस पार्टीको र संसदीय दलको आधिकारिक धारणा होइन । यी विचारले सम्मानित सदनका सदस्यहरू र अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमायाचना गर्न चाहन्छु,” उनले भने ।

उनले गत आइतबार (चैत ३ गते)को बैठकमा घिमिरेले देशको विकासका लागि यौन व्यवसाय र गँजा वैधानिक रूपमा खुलाउनुपर्ने तर्क गरेका थिए ।

धेरै देशले यौन व्यवसायलाई मान्यता दिइसकेको भन्दै घिमिरेले भनेका थिए, ‘यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ ।’ उनको अभिव्यक्तिप्रति संसद्‌मा पनि विरोध भएको थियो । पार्टीमा पनि आलोचना भएपछि उनले माफी मागेका हुन् ।

Tags

छुटाउनु भयो कि ?