वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा सुरु भएको छ । बिरामीको बढ्दो चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा सुरु गरेको हो । अस्पतालका निमित्त निर्देशक डा। समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरूमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताए ।
यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेशन सेवा उपलब्ध भैरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै सङ्घीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न भनेका थिए । सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । वीरले ओपीडी र सार्वजनिक बिदामा सेवा दिँदै आए पनि दुवै सिफ्टमा अपरेशन बल्ल सुरु गरेको हो ।
अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा सुरु भएका छन्, उनले भने, विस्तारै बाँकी अरु सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ । आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताए ।