संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंला काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई आग्रह गरेको छ।
सहसचिव गुरागाईंले कुनै गल्तीसमेत नगरेको अवस्थामा कारबाहीका नाममा आफूलाई काम गर्न नदिएको भन्दै बुधबार निवेदन दिएपछि सामान्य प्रशासन मन्त्रालयले बिहीबार बालेन्द्रलाई यस्तो भनेको हो ।
मन्त्रालयले खटाइएका कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित बिहीबार पत्र लेखेको सह-सचिव एवम् प्रवक्ता कालीप्रसाद पराजुलीले खबरहबलाई बताए ।
‘गुरागाईंजीले बुधबार नै आफूलाई काम गर्ने वातावरण बनाइदिने आग्रहसहित मन्त्रालयमा निवेदन दिनु भएको थियो । उहाँको सरुवा पनि नभएको अवस्थामा बिहीबार महानगरलाई पत्र लेखेर काम गर्ने वातावरण बनाइदिन भनेका छौँ ।’
महानगर प्रमुख बालेन्द्र ‘बालेन’ले गुरागाईंला कार्यालयमा हाजिर हुन दिएका छैनन् । उनको कार्यकक्षमा पनि बालेन्द्रका सचिवालयका सदस्यले ताला लगाइदिएका छन् । त्यहीकारण हाजिर गरेर काम गर्न दिएको गुनासोसहित गुरागाईंले बुधबार निवेदन दिएपछि मन्त्रालयले काम गर्ने वातावरण बनाइदिन महानगरलाई भनेको हो ।
काठमाडौं महानरका प्रमुश प्रशासकीय अधिकृत गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएर कार्यकक्षमा तालासमेत लगाइदिएको लिखित गुनासो गरेपछि मन्त्रालयले पत्र लेखेको हो ।
बालेनले आफ्नो कार्यकक्षमा ताला लगाइदिएर काम गर्न नदिएको, आफूले गर्दै नगरेको गल्तीमा दोषीमा दोषी देखाउन खोजेको र अनेक झूटा लाञ्छनासमेत लगाएर अपमानित गरेको गुरागाईंले मन्त्रालयमा पठाएको निवेदनमा भनिएको छ ।