नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न नसकेको बताएका छन् ।
कैलालीको टीकापुरमा आज आयोजित थारु राष्ट्रियमुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनमा उहाँले उत्पीडित जनता अहिले पनि आफ्नो अधिकारको पर्खाइमा रहेको बताए।
‘यो व्यवस्था ल्याउनमा उत्पीडित जाति, वर्ग र समुदायको महत्त्वपूर्ण भूमिका थियो र छ । तिनको अधिकारलाई स्थापित गर्दै समाजवाद स्थापना गर्नु अहिलेको आवश्यकता हो’, अध्यक्ष दाहालले भने। समाजवादी क्रान्तिका लागि जातीय मोर्चा आवश्यक हुने उनको जिकिर थियो ।
विगतमा भएको सशस्त्र सङ्घर्षलाई सफल पार्नमा पार्टीसँग जोडिएका जातीय मोर्चाको भूमिका विशेष रहेको बताउँदै अध्यक्ष दाहालले बृहत् शान्ति प्रक्रियापछि ती समुदायसँगको समन्वय र सहकार्यमा केही कमजोरी भएको स्वीकारे ।