टप खबर

माओवादीसँग मिलेरै सामाजिक सञ्जाल विधेयक बनाएको हो: प्रधानमन्त्री ओली

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले हाल प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँग बसेर नै आफूहरुले सामाजिक सञ्जाल विधेयक तयार पारेको बताएका छन् ।

काठमाडौंमा भएको कार्यक्रममा ओलीले माओवादीसँगै बसेर विधेयकको मस्यौदा तयार पारिएको बताएका हुन् । पहिले सहमति जनाएर अहिले विरोध गरेको भन्दै ओलीले आक्रोश व्यक्त गरे ।

‘केही मान्छेले आफैंले हिजो मस्यौदा गरेका हुन्, कानुन । अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने, विरोध गरेर उफ्रिने संसदमा भएका केही पार्टीहरु छन् । खासगरि माओवादीलगायत, हामी सँगै बसेर बनाएका हौं ।’ उनले भने ।

प्रधानमन्त्री ओलीले बोल्ने सबैलाई छुट भए पनि जे पनि बोल्न नपाइने बताए । ‘जे पनि होइन, ठिक कुरा बोल्नुपर्छ । ठिक कुरा गर्ने अभ्यास बोल्नुपर्छ । देशको विरुद्ध बोल्ने, शान्ति सुरक्षा, अमनचयन खल्बल्याउन खोज्ने ?जथाभावी बोल्ने प्रवृत्ति बढेका छन् । कुनै वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामा कुनै प्रकारको बन्देज लगाइने छैन ।’उनले अगाडि भने, ‘हामी त बोल्न नपाइने समाजबाट आएका हौं नि ! बोल्न नपाएकाविरुद्ध लडेर आएका हौं । त्यसकारण कसैको पनि अधिकार मिच्न पाइँदैन । हामीले बनाउने कुनै कानुनले कुनैको अधिकार मिचिँदैन ।’

अहिले सामाजिक सञ्जाल विधेयकको विरोधमा उभिए पनि विगतमा माओवादीले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध नै लगाएको समेत प्रधानमन्त्री ओलीले स्मरण गराए । ‘टिकटकमा प्रतिबन्ध नै लगाएका हुन् । अहिले बहुत हिमायती निस्किएका छन् फेरि । बोल्न पाउनुपर्छ भनेर जे पनि बोल्न पाउनुपर्छ भनेर उफ्रिएका छन् । त्यतिबेला किन प्रतिबन्ध लगाएको ?’ उनले प्रश्न गरे ।

Tags

छुटाउनु भयो कि ?