टप खबर

१३ प्रतिशतले बढ्यो वैदेशिक व्यापार

Lumbinikhabar Online

गत आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा नेपालको वैदेशिक व्यापार १३।३० प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिना अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको आयात र निर्यात दुवै बढ्न पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालको वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार रुपैयाँ बराबरको भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रुपैयाँ बराबरको भएको हो ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार माघ मसान्तसम्म नेपालमा ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार बराबरको भएको थियो । गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा नेपालमा १०।०९ प्रतिशत बढी आयात भएको भन्सार विभागले जनाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको ७ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालबाट ४६।५० प्रतिशत बढी निर्यात भएको छ । विभागको तथ्यांकअनुसार नेपालबाट माघ मसान्तसम्म १ खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ मात्रैको निर्यात भएको थियो ।

Tags

छुटाउनु भयो कि ?