शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक पारित गर्न नसके पद छाड्ने उद्घोष गरेकी छन् ।
बिहीबार नेकपा (एमाले) को भातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको पहिलो प्रदेश परिषद् बैठकलाई सम्बोधन गर्दै आफू शिक्षा ऐन ल्याउन भनेर नै पदमा बसेको बताएकी हुन् ।
आफू कुनै कुरा पाउँछु र कमाउँछु भनेर मन्त्री नबनेको उनको भनाई थियो । ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु । विधेयक ल्याउने भनेर बसेको हो । सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ,’ उनले भनिन् ।
साथै, आगामी बजेटबाट प्रारम्भिक बाल विकास केन्द्र (इसिडी) र विद्यालय कर्मचारीका तलबलगायत दरबन्दीका समस्या समाधान हुने दाबी भट्टराईले गरिन् । सामुदायिक विद्यालयमा खानेपानी निस्शुल्क गर्न खानेपानी मन्त्रालयसँग मिलेर कार्यदल बनाएर अध्ययन भइरहेको, विद्यालयमा बिजुली र इन्टरनेट निस्शुल्क गर्न पनि आफूले छलफल अघि बढाएको उनले बताइन् ।
उनले आफू राजनीतिमा आउँदा स्थायी प्राध्यापक र जीवन साथी नै गुमाएकोले अहिलेको पद गुमाउँछु भनेर मनमा कतै त्रास नभएको पनि बताएकी छन् ।