टप खबर

नयाँ पुस्तालाई राजनीतिमा जोड्न नसक्ने दलले देशका लागि काम गर्न नसक्ने शङ्कर पोखरेलको धारणा

Lumbinikhabar Online

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई राजनीतिमा जोड्न नसक्ने राजनीतिक दलले देशका लागि काम गर्न नसक्ने धारणा व्यक्त गरेका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा आज यहाँ आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा उहाँले एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको उल्लेख गर्दै पोखरेलले देश बनाउने अभियानको अगुवाइ युवाहरुले गर्नुपर्ने बताए ।

उनले भने, “नयाँ पुस्तालाई राजनीतिसँग जोड्न सकिँदैन भने त्यो राजनीतिक दलको भविष्य लामो हुन सक्दैन । युवाहरुलाई साथमा लिएर हिँड्न सक्नुपर्छ । अबको युग युवाको युग हो, युवाको साथमा एमाले छ ।”

महासचिव पोखरेलले लोकतान्त्रिक शासन व्यवस्थामा जनताले पत्याएका दलले शासन गर्नुपर्ने र ती दलले शासन स्वभाविक भएको बताए । उनले भने, “धेरैलाई दुई ठूला दल मिल्ने कुरा अप्राकृतिक भयो भन्ने लागिरहेको छ । जुन गलत हो, जनताले अस्वीकार गरेका दलहरू शीर्षस्थानमा रहने कुरा अप्राकृतिक हो ।”

उनले कांग्रेस–एमाले सधैँभरिका लागि नमिलेका पनि स्पष्ट पारेका छन् । जनताका बीचमा जाने बेलामा नेकपा ९एमाले० र नेपाली कांग्रेसले एकापसमा गठबन्धन नगर्ने समेत उल्लेख गरे। देश बनाउनका लागि धेरै राजनीतिक दल होइन ठूला र बलिया राजनीतिक दल आवश्यक रहेको उनको भनाइ थियो । “ठूला र जनमतप्राप्त दलले मात्र मुलुकमा विकास र समृद्धिका लागि काम गर्न सक्छन्”, उनले भने, “देशलाई विकास र समृद्धिको बाटोमा लैजान जनमतप्राप्त राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व चाहिन्छ”, पोखरेलले बताए ।

एमाले पार्टीको नीति एमालेको मात्रै नभएको उल्लेख गर्दै उनले भने, “एमालेको नीति मुलुकको नीति बन्नुपर्छ । एमालेको ‘मिसन–८४’ एमालेको एकल बहुमतको सरकारका लागि हो ।”

त्यसअवसरमा युवा सङ्घको पूर्वअध्यक्ष महेश बस्नेतले युवा सङ्घ बौद्धिक मात्र नभई प्रतिरोधी सङ्गठन रहेकाले राज्यलाई सचेत बनाउनमा पनि सक्रिय रहने बताए । उनले भने, “सङ्घले उठाएका मुद्दाहरु राष्ट्रिय ‘एजेन्डा’ बन्छन् । सामाजिक न्यायमा योगदान दिन, सिर्जनशील र रचनात्मक बाटोमा सङ्घ लाग्नुपर्छ ।” उनले आफूहरु सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको उल्लेख गर्दै सत्य सूचना जनतामा पुग्नुपर्ने र व्यक्तिको चरित्र हत्या हुने गरेर अप्रमाणित विषयवस्तुबारे मिडियालाई बोल्ने छुट नभएको बताए ।

युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले युवाहरुलाई नीति निर्माणमा सहभागी गराउँदै रोजगारी सृजना, आत्मनिर्भर र उद्यमशीलताका योजनालाई अघि सार्न भेलाको आयोजना गरिएको बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?