गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताएका छन् ।
मंगलबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले सहकारी प्रकरणमा अनुसन्धान हुँदै गर्दा जिल्ला प्रहरी र सरकारी वकीलको कार्यालय घेरेर अनुसन्धान प्रभावित गर्न खोजिएको बताएका हुन् ।
उनले रवि र रास्वपाका कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न यस्ता हर्कत गरेको पनि बताएका छन् । मन्त्री लेखकले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको बताए ।
उनले सबैको मानवअधिकारको प्रश्नमा सरकार गम्भीर रहेको भन्दै लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको उल्लेख गरेका छन् ।
न्यायिक प्रक्रिया प्रभावित गर्ने ढंगले कसैले बोल्नु गलत हुने उनले बताए । गृहमन्त्री लेखकले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि प्रकरणमा सरकारले प्रतिशोध साँध्यो भनेर बोल्नु दुर्भाग्यपूर्ण रहेको पनि बताए ।