राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति प्रकट गरेको छ ।
बयानका लागि चितवनमा लगिएका लामिछानेलाई गत बुधबार मध्यराती प्रहरीले चितवनबाट पोखरातर्फ लगेकोप्रति रास्वपाले आज विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।
साथै उक्त विषयमा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरूको गम्भीर ध्यानाकर्षण पनि गराएको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज विज्ञप्ति जारी गर्दै सरकारको सो कदम राज्य संयन्त्रको चरम दुरुपयोग र प्रतिस्पर्धी दलको नेतालाई यातना दिने अमानवीय, अपमानजनक तथा गैर न्यायिक चालबाजी भएको बताएका छन् ।
यस्तै लामिछानेको हिरासतमा बस्दा लेखिरहेको डायरी पनि प्रहरीले गायब पारेको पनि विज्ञप्तमा उल्लेख छ ।
सरकारको यस्तो कार्यले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको भन्दै विज्ञप्तिमा निर्मम कदमको राज्यले औचित्य पुष्टि गर्नुपर्ने माग गरिएको छ ।