नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो
दुई देशबीचको समझदारीपत्रमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं क्रसबोर्डर रेल्वे, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी क्रसबोर्डर प्रसारण लाइनलगायत काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति गर्ने लगायत विषय समेटिएका छन् ।
वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।