टप खबर

काभ्रेपलाञ्चोक स​ड​क खण्डमा राति यातायात सञ्चालनमा रोक

Lumbinikhabar Online

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो ।

कार्यालयद्वारा शुक्रबार जारी सार्वजनिक सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न उल्लेखित क्षेत्रमा एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाइएको छ ।

यसअघि यही असार ६ गते काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बिपी राजमार्गमा असार ७ गतेदेखि सोही समयमा करिब १० घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाएको थियो ।

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई यसअघि १५ दिनका लागि राति सञ्चालनमा रोक लगाइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

उनकाअनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभे्रपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो ।

आइतबारदेखि काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने छ ।

Tags

छुटाउनु भयो कि ?