टप खबर

हामीलाई बन्न पनि समय लाग्यो, बिग्रेछौं भने पनि समय लाग्छ: योगेश भट्टराई

Lumbinikhabar Online

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा भाग नलिएकोमा दु:ख लागेको बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘संसद्‌मा हामी छलफल गर्दैनौं, भाग लिँदैनौं विनियोजन विधेयकमा, नीति कार्यक्रमाथिको छलफलमा भने गम्भीर प्रश्न उठ्छ– संसदप्रति उहाँहरूको विश्वास छ कि छैन ?,’ भट्टराईको प्रश्न छ ।

भिजिट भिसा प्रकरणलाई भट्टराईले सामान्य विषयको संज्ञा दिए । यो विषय संसद्मा उठिसकेपछि छलफल गरेको र सहमतिमा पुगेको उनले स्मरण गरे ।

भिजिट भिसा प्रकरणमा छानबिन गर्ने सहमतिमा दलहरूपुग्दा छलफलमा रास्वपा समेत रहेको र रास्वपाले समयसीमा तय गरौं भनेर प्रस्ताव राखेको उनले बताए ।

सत्तापक्ष समयसीमा तोक्न समेत तयार भएपछि रास्वपाले छलफलका लागि समय मागेको र पुन: छलफलमा नफर्किएको भट्टराईको टिप्पणी छ । छलफलमा नगएर रास्वपा सिधै संसद्को वेल घेराउमा पुगेको भनेर उनले प्रश्न उठाएका हुन् । ‘अब गर्ने के त ? गर्न के खोज्नुभएको हो ? त्यो हामीले बुझ्न सकेका छैनौं,’ भट्टराईले भने, ‘संसद्प्रति उहाँहरूको विश्वास छैन भने त बेग्लै प्रश्न हो ।’

आज रास्वपाको स्थापना दिवस रहेको स्मरण गर्दै उनले शुभकामना पनि दिए । तेस्रो वर्षबाट चौथो वर्ष लागेकोमा शुभकामना दिँदै भट्टराईले भने, ‘उहाँहरूले अरु पार्टीमाथि प्रश्न उठाइरहनुभएको छ । कांग्रेस बिग्रयो, एमाले बिग्रयो । म उहाँहरूलाई भन्न चाहन्छु– हामीलाई बन्न पनि समय लाग्यो । बिग्रेछौं भने पनि समय लाग्छ । तपाईंहरू त छिटो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ । त्यो ख्याल गर्नुहोला, स्थापना दिवसका अवसरमा त्यो समीक्षा गर्नुहोला ।’

Tags

छुटाउनु भयो कि ?