स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध जित हात पारेको छ । बिहीबार राति भएको खेलमा नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो ।
नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए ।
त्यस्तै आरिफ शेखले पनि विष्फोटक ब्याटिङ गरे । २३ बलको सामना गरेका उनले ३ चौका र २ छक्कासहित ३९ रन बनाएर रिटायर्ड भए । खुट्टामा समस्या देखिएपछि आरिफले मैदान छाड्नु परेको थियो ।
त्यस्तै आज नै टि२० आईमा डेब्यू गरेका भीम सार्कीले १६ बलमा २ चौका र एक छक्का सहित २७ रन बनाएका थिए । आज पनि कप्तान रोहित पौडेलको ब्याट चलेन । ७ बलको सामना गरेका उनी ५ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले १६ रन बनाउँदा लोकेश बमले १२ रनको योगदान दिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको हो ।