टप खबर

कोरोनाको संक्रमण दर तिब्र रुपमा बढ्न थालेपछि सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

Lumbinikhabar Online

छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण दर तिब्र रुपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमण फैलन नदिन पूर्वतयारीका सबै काम सकेका बताएको छ। छिमेकी मुलुक भारतमा देखिएको संक्रमण १५ दिनभित्र नेपालमा भित्रिएको विगतको अनुभवको आधारमा पूर्वतयारीको काम भइरहेको मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय तिब्र रुपमा फैलिएको संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर विगत दुई सातादेखि पूर्वतयारी भइरहेको बताए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता डा बुढाथोकीले छिमेकमा संक्रमण बढेसँगै नेपालमा पनि ढिलो वा छिटो आउँछ भन्ने विगतका अनुभवले देखाएकोले पूर्वतयारीमा लागिरहेको बताए ।

पूर्वतयारीका क्रममा भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन वटा हवाई नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको बताए। नाकामा भित्रने सबैलाई कोरोनाको आरडिटि टेस्ट गर्दा नेगेटिभ वा पोजेटिभ जे देखिने भएपनि एक सातासम्म सेल्फ आइसोलेशनमा बस्न आग्रह गरिरहेको बताए।

 

प्रवक्ता बुढाथोकीले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरु देशभित्र वा देश बाहिर जो भएपनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न र कुनै कारणवश श्वासप्रश्वासमा समस्या भए वा थप जटिलताहरु देखिए नजिकका स्वास्थ्य संस्थामा तुरुन्त जान आग्रह गरिरहेको बताए।

उनले भने, ‘हाम्रो छिमेकी मुलुक भारतमा पछिल्लो समयमा संक्रमण बढेपछि र केही मृत्युको घटना भइसकेपछि भारतमा भएको संक्रमण ढिलो वा छिटो १० दिन १५ दिनमा नेपालमा पनि आउँछ भन्ने विगतका अनुभवले देखाएको हुनाले हामी त्यसको पूर्वतयारीमा लगभग २ सातादेखि नै लागिरहेका छौं। र, पूर्व तयारीका क्रममा सबैभन्दा पहिलो कुरा भारतबाट नेपालमा संक्रमण नछिरोस् भनेर १७ वटा स्थल नाका र तीन वटा हवाई नाका त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई सचेत बनाएका छौं।’

Tags

छुटाउनु भयो कि ?