काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स फिल्म फेस्टिभलमा नेपालले पहिलोपटक आधिकारिक रूपमा सहभागिता जनाएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा चलचित्र विकास बोर्डले नेपालका तर्फबाट स्टल स्थापना गर्दै नेपाली चलचित्र, चलचित्रकर्मी तथा नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने ऐतिहासिक पहल गरेको हो ।
चलचित्र विकास बोर्डले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बेलायतस्थित नेपाली प्रोडक्सन कम्पनी “शाही प्रोडक्सन” लाई स्थानीय साझेदार तथा व्यवस्थापकको रूपमा जिम्मेवारी दिइएको छ । बोर्डका अनुसार सरकारी वैदेशिक भ्रमणसम्बन्धी नीतिगत व्यवस्थाका कारण अन्तिम समयमा प्रतिनिधि पठाउन कठिन भएपछि स्थानीय व्यवस्थापनमार्फत नेपालको सहभागिता सुनिश्चित गरिएको हो ।
बोर्डले यसअघि २०८१ फागुन २५ गते आधिकारिक सूचना जारी गर्दै क्यान्स फेस्टिभलमा सहभागी हुन इच्छुक चलचित्रकर्मीलाई पोस्टर, ट्रेलर, प्रचार सामग्री तथा अन्य आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको जनाएको छ । सोही सन्दर्भमा नेपाली चलचित्र “ईलिफेन्ट इन द फल” लाई विशेष प्राथमिकताका साथ नेपाल स्टलमा समेट्ने तयारी गरिएको थियो ।
प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार चलचित्रका निर्माता अनुप पौडेल तथा निर्देशक अम्मिनाथ शर्मा सँग बोर्डले छलफल गरी क्यान्समा चलचित्रलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने योजना अघि बढाएको थियो । नेपाल स्टलको करिब ६० प्रतिशत स्थान नेपाली चलचित्रको प्रचार–प्रसारका लागि छुट्याइएको जानकारी समेत दिइएको छ । साथै नेपाल पर्यटन बोर्डको सहकार्यमा चलचित्रकर्मीहरूको सम्मानमा नेटवर्किङ पार्टी आयोजना गर्ने योजना पनि बनाइएको थियो ।
चलचित्र विकास बोर्डले स्टल व्यवस्थापनका लागि आवश्यक डिजाइन, लोगो, प्रचार सामग्री लगायतका विषयमा प्रत्यक्ष समन्वय गरिएको जनाएको छ । यद्यपि केही चलचित्रबाट अन्तिम समयसम्म प्रचार सामग्री प्राप्त नभएकाले उपलब्ध सामग्रीका आधारमा स्टल व्यवस्थापन गरिएको बोर्डले स्पष्ट पारेको छ ।
बोर्डका अनुसार यस सहभागितालाई कुनै एक चलचित्र वा समूहको प्रचारमा सीमित नराखी नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजार, सह–निर्माण, वितरण, छायांकन पर्यटन तथा सांस्कृतिक कूटनीतिसँग जोड्ने दीर्घकालीन रणनीतिक पहलको रूपमा अघि बढाइएको हो ।
चलचित्र विकास बोर्डले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट आएका सुझाव र प्रतिक्रियालाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित, समावेशी र प्रभावकारी सहभागिता सुनिश्चित गरिने जनाएको छ । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न बोर्ड सधैं प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

