गए रातीदेखि भइरहेको अविरल वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा डुबान भएको छ ।
काठमाडौंका टेकुदोभान, बल्खु, कालीमाटी, गोंगबु, बौद्ध, कलंकीलगायतका स्थान डुबानमा परेका छन् । ललितपुरमा पनि थुप्रै स्थान डुबानमा परेका छन् भने भक्तपुरमा पनि हनुमन्ते खोलाले बस्तीहरु डुबाएको छ ।
बाग्मती, विष्णुमतिलगायतका नदीहरुमा जलसतह खतराको तहभन्दा माथि पुगेको छ । नदी किनारका करिडोरहरु पनि डुबानमा परेका छन् । बल्खुस्थित तरकारी बजारभित्र बाढी पसेपछि ठूलो क्षति भएको छ । नदी किनारका सुकुम्वासी बस्तीहरु पुरै डुबानमा परेका छन् भने घर घरमा पानी पसेको छ ।
पछिल्लो २४ घण्टामा झापामा सवैभन्दा बढी वर्षा भएको छ । झापाको चन्द्रगढी विमानस्थलमा २९७.४, अनारमनीमा २३४.८, इलामको कन्काइमा २६८.४, झापाको अर्जुनधारामा १५६, इलामको बरफल्याङमा १५३.४, झापाको गौरादहमा २३९.२ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै विराटनगर विमानस्थलमा १९४ मिलिमिटर वर्षा भएको छ भने उदयपुरको सुन्दरपुरमा १५३.६, सप्तरीको रुपनीमा १४४, पाल्पाको अर्चलेमा १५७.२, पाल्पाकै जाल्पामा १५८.६, नवलपरासीको देउरालीमा १४२.६ मिलिमिटर वर्षा भएको पनि महाशाखाले जनाएको छ ।