टप खबर

रास्वपा सभापति रवि लामिछानेले ओलीप्रति मध्यराति आक्रोश पोखे

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति मध्यराति आक्रोश पोखेका छन्।

सहकारीको रकम अपचलन प्रकरणमा सरकारले पक्राउ गर्ने तयारी गरिरहेका बेला रास्वपाका सभापति लामिछानेले अमेरिकामा रहेका प्रधानमन्त्री ओलीप्रति मध्यराति आक्रोश पोखे ।

लामिछानेले मध्यराति सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीप्रति आक्रोशपूर्ण व्यंग्य गरेका हुन्।

उनले लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौँ, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि….।’

सहकारी छानबिनका लागि गठित संसदीय विशेष समितिले दोषी औँल्याएकाहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ।

गृहमन्त्री रमेश लेखकले निर्देशन दिएलगत्तै सो प्रकरणमा प्रहरीले आइतबार नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरिसकेको छ भने पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गर्ने तयारी गरिरहेको छ।

सूर्यदर्शन सहकारी ठगीको आरोपमा गत माघमा नै जोशी र लामिछानेसहितविरुद्ध पूरक जाहेरी परेको थियो। जीबी राई, कुमार रम्तेललगायत विरुद्ध भने यसअघि नै मुद्दा दर्ता भइसकेको छ।

यसबीचमा आफैं गृहमन्त्री भएका लामिछानेले यो मुद्दा दबाउँदै आएका थिए। संसदीय छानबिन र गृहमन्त्री परिवर्तनसँगै उनीविरुद्धको सहकारी ठगी मुद्दामा अनुसन्धानले गति लिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले यसअघि नै आएर उनी संलग्न गोर्खा मिडिया नेटवर्कसहितका संस्थामा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो। सोही क्रममा छवि र रविसहितसँग बयान कागज पनि गराइसकेको थियो।

Tags

छुटाउनु भयो कि ?