सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको म्याद थप गर्ने तयारी भएको छ । मंगलबार बस्ने प्रतिनिधिसभा बैठकबाट म्याद थपको प्रस्ताव पेस हुने बताइएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव पेस गर्ने विषय उल्लेख छ ।
तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि १५ जेठमा एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।
तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । त्यस अनुसार २२ भदौमा समितिको म्याद सकिँदैछ ।
सभापति थापाले सभामुख देवराज घिमिरेलाई भेटेर समितिको म्याद थपका लागि प्रस्ताव राखेपछि सभामुखले उक्त विषय प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राख्न लगाएका हुन् ।