एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । लगातारको वर्षा र मौसममा आएको खराबीले सडक र हवाई दुवै सेवा अवरुद्ध भएका हुन् । यहाँका चार विमानस्थलमा उडान हुन सकेको छैन भने कर्णाली राजमार्ग र कर्णाली करिडोर बाढीपहिराले अवरुद्ध हुँदा सवारी साधन गुड्न सकेका छैनन् ।
छायाँनाथ रारा नगरपालिका–११ का नौलासिंग नेपाली अत्यावश्यक कामले सुर्खेत जानुपर्ने भए पनि गाडी र विमानस्थल दुवै नचल्दा रोकिएको बताउँछन् । यही असार २२ गते शिक्षक सेवा आयोगको परीक्षा दिन जाने तयारीमा रहेका छायाँनाथ रारा नगरपालिका–१० तल्लेखका स्थानीय मोहन शाहीको परीक्षा छुट्यो । उनी जस्ता धेरैको परीक्षा छुटेको छ ।