नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने बताएका छन् । अर्थमन्त्रीसमेत रहेका पुनले प्रधानमन्त्री दाहालले सदनमा विश्वासको मत लिन मिति तोकिएको अवस्थामा कांग्रेस र एमालेले दबाब दिएकै कारण राजीनामा नदिने बताए।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकबाट बाहिरिने क्रममा उनले दुई ठूला दल मिलेर संविधान संशोधन गर्न खोजेको हल्लाबारे प्रधानमन्त्री दाहालले सदनमा सोध्ने पनि बताए । माओवादी पनि संविधानको स्टेकहोल्डर रहेको बताउँदै पुनले आफूहरूलाई बाहिर राखेर किन संशोधन गर्न खोजिएको हो ? भनेर सोधे ।