राजदूत बन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा २४० जनाका आवेदन परेका छन्। रास्वपाले बनाएको सिफारिस समितिसमक्ष अनलाइन र इमेलमार्फत २४० भन्दा बढी नाम प्राप्त भएको हो । तीमध्येबाट ७ जनाको नाम सभापति रवि लामिछानेलाई आइतबार बुझाइएको छ ।
सभापति लामिछानेले ती ७ जनामध्येबाट पनि २ जना छनोट गर्न उपाध्यक्ष स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिखिर खनाललाई नै जिम्मा दिएका छन्। रास्वपाले विभिन्न ७ मापदण्ड तय गरी राजदूत बन्न इच्छुकलाई आवेदन दिन भनेको थियो। सरकारले गत असार ७ गते ८ वटा देशका लागि राजदूत सिफारिस गरिसकेको छ। गत जेठ २४ गते विभिन्न ११ वटा मुलुकका राजदूत फिर्ता बोलाएको थियो। त्यसयता रिक्तमध्ये अब ४ वटा देशका राजदूत सिफारिस हुन बाँकी छ।
राजनीतिक भागबन्डा अनुसार रास्वपाले दुई देशको लागि राजदूतको कोटा पाएको छ। खाली भएकामध्ये अब दक्षिण कोरिया, कतार, इजरायल र पोर्चुगलमा राजदूत सिफरिस हुन बाँकी छ। रास्वपाले यिनै चारमध्ये दुई देशमा राजदूतको नाम प्रस्ताव गर्नुपर्नेछ।