टप खबर

नक्कली लाइसेन्स जारी गर्ने पाँच कर्मचारी पक्राउ

Lumbinikhabar Online

नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने प्रक्रियामा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न ठाउँका यातायात कार्यालयका पाँच जनालाई पक्राउ गरेको छ ।

 

लिखित र प्रयोगात्मक परीक्षाबिनै १० वर्षको अवधिमा एक लाखभन्दा बढी लाइसेन्स जारी गरेको भेटिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा नक्कली लाइसेन्स जारी गर्ने प्रक्रियामा संलग्न ५ जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ । पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख ४५ वर्षीय उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा कार्यरत कम्प्युटर अधिकृत ३७ वर्षीय पदमराज आचार्य रहेका छन् ।

 

यसैगरी, तत्कालीन समयमा यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत ३३ वर्षीय शाखा अधिकृत सुवास पौडेल, यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत ३० वर्षीय सहायक कम्प्युटर अपरेटर राजेश लम्शाल र यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर ४७ वर्षीय दिलीपकुमार साह रहेका छन् ।उनीहरूमाथि अनुसन्धान गर्न सीआईबीले अदालतबाट पाँच दिनको अनुमति पाएको छ ।

 

सीआईबीका अनुसार यातायात व्यवस्था कार्यालयहरूले सवारीचालक अनुमतिपत्र वितरण गर्दा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूसमेतको मिलेमतोमा प्रणालीमा फर्जी विवरणहरू इन्ट्री गरेर गैरकानुनी तवरले सवारीचालक अनुमतिपत्र जारी भएको पाइएको छ । यस कार्यमा उनीहरूको संलग्नता रहेको पाइएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनीहरूमाथि लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?