नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी देखिँदै गएको बताएका छन् । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले सञ्चारमाध्यको विषय वस्तुमाथि नियन्त्रण गर्न खोज्ने, संसदमा प्रतिपक्षीलाई बोल्न रोक्ने जस्ता सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी देखिएको बताएका हुन् ।
सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्ने अहिलेको प्रवृति चिन्ताजनक रहेको भन्दै उनले अहिले जस्तो अवस्थामा ज्ञानेन्द्र शाहको शासनमा समेत नदेखिएको तर्क गरे । उनले सत्ताको रवैको विरोध गर्दै काठमाडौंमा कांग्रेसले वृहत प्रदर्शन भएको र यो कुनै व्यक्ति केन्द्रीत नभएको जिकिर गर्नुभयो । महामन्त्री थापाले सहकारी प्रकरणमा संसदीय छानविन समिति कांग्रेसले भनेकै जस्तो बन्ने र यस बिषयमा संसदबाटै लड्ने स्पष्ट पारे ।