काठमाडौं महानगरपालिकाले आफ्नो कार्यलय प्रवेशद्वारमा फोहोर फालेको भन्दै सडक विभाग अन्तरगत रहेको सडक डिभिजन काठमाडौंले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै मिनभवन स्थित कार्यालयको गेटमा महानगरपालिकाको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । डिभिजनको गेटमा देशकै ठुलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘काठमाडौं महानगरपालिककाको मिनि टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिएको विषयले सडक डिभिजन काठमाण्डौंको गम्भिर ध्यानाकर्षण भएको छ । काठमाण्डौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानिय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीवाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ ।’ त्यस्तै जथाभाबी सडक काट्न रोकेपछि बालेनले डिभिजनसँग सरोकार नै नभएको विषयलाई कारण बनाई कानुनी राज्यकाे उपहास गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।