काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण कार्य सुरु गरिनेछ । वर्षाले क्षतिग्रस्त भएको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः पानी वितरण गर्न लागिएको हो । मेलम्चीको पानी वितरणको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नु हुनेछ । प्रधानमन्त्रीले पानी वितरणको कार्य शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
सोमबार पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुनेछ । त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ ।