ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा मृत्यु भएका व्यक्तिका परिवार र सरकारबीच चारबुँदे सहमति भएको छ । गृहमन्त्रालयमा भएको छलफलपछि सरकार र पीडित पक्षबीच मृतकका परिवारका १–१ जना सदस्यलाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने सहमति भएको हो ।
दुई पक्षबीच सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने, मृतकका परिवारले आजै शव बुझिलिने र शव सम्बन्धित जिल्लामा पुर्याउन गृह मन्त्रालयले पहल गर्ने सहमति भएको छ ।