टप खबर

ट्राफिक कारवाहीमा परेका एक हजार तीन सय दुई जना सडकमा खटिए

Lumbinikhabar Online

अन्य दिनको तुलनामा बुधबार दिउँसो काठमाडौँका मुख्य तथा व्यस्त चोकमा पहेँलो रंगको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर हजारौँ युवायुवती ट्राफिक नियम सिकाउनमा व्यस्त देखिन्थे। यसरी पहेँलो रंगको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर आ-आफ्नो समयअनुसार दिनभरि एक हजार तीन सय दुई जनाले स्वयम्सेवकका रुपमा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गरेका थिए। उनीहरु कुनै नयाँ संघ संस्थाका प्रतिनिधि, विद्यार्थी एवं ट्राफिक प्रहरी नभएर ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेका थिए।उनीहरुले बुधबार बिहान ९ बजेदेखि ५ बजेसम्मको समयमा सवारी साधन व्यस्त हुने चोकमा सवारी व्यवस्थापनमा सहयोग गरेका हुन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकालाई स्वयम्‌सेवकका रुपमा सडकमा खटाउन सुरु गरेसँगै उनीहरुले पहिलो दिन सवारी व्यवस्थापनमा सहयोग गरेका हुन्।

उनीहरु खटिएपछि बुधबार काठमाडौँका व्यस्त सडकहरुमा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न सहज भएको थियो। ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेका एक हजार तीन सय दुई जनालाई काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रमा स्वयम्सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, “ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकालाई हामीले स्वयम्सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाइएका थियौँ, बेलुकी ५ बजेसम्म उहाँहरु खटिनुभएको थियो।”

स्वयम्सेवकका रुपमा सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोकलगायत ठाउँमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।सवारी चालकलाई ट्राफिक नियमको सामान्य ज्ञान दिएर फिल्डमा खटाइएको थियो। ट्राफिक नियम उल्लंघन गर्ने प्रत्येकले एक घण्टा स्वयम्सेवकका रुपमा सडकमा खटिनुपर्ने जनाइएको छ।

Tags

छुटाउनु भयो कि ?