टप खबर

सर्वोच्च अदालत द्वारा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर

Lumbinikhabar Online

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गरेको छ। कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेद्वारा दायर रिट निवेदनमा तीन दिनको सुनुवाइपछि न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले यो निर्णय सुनाएको हो।जेठ ८ र ९ गते लगातार सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो। तेस्रो दिनको सुनुवाइपछि सोमबार सर्वोच्चले निर्णय सुनाएको हो। सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले वैशाख २८ गते गण्डकी सरकारविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

 

आदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई नियमित कार्य सञ्चालनबाहेक दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न भनिएको थियो।अन्तरिम आदेश जारी हुने नहुने विषयमा छलफल गर्न सर्वोच्चले दुवै पक्ष बोलाएको थियो। रिटलाई अग्राधिकार दिई जेठ ८ गते पेसीमा चढाउन पनि इजलासले भनेको थियो। वैशाख २३ गते ६० सदस्यीय प्रदेश सभामा अधिकारीले विश्वासको मत लिँदा ३० सांसदको समर्थन पाएका थिए। २७ सांसदले विपक्षमा मतदान गर्दा २ जना तटस्थ बसेका थिए। सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको यसअघिको व्याख्याअनुसार अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?