टप खबर

नेपाल वायुसेवा निगमको जहाजबाट ११ जनाको उद्धार

Lumbinikhabar Online

हृदयघात भइ सिकिस्त बिरामी परेका गणेश बुढथापासहित ११ जनाको नेपाल वायुसेवा निगमको जहाजबाट उद्धार गरिएको छ ।तीन पटकसम्म हृदयघात भइ सिकिस्त बिरामी परेका बुढथापालगायत ११ जना यात्रुको नाइन–एन एबीटी कल साइनको जहाजबाट मंगलबार बिहान ११ः१९ बजे उद्धार गरिएको निगमले जनाएको छ ।

 

नेपालगञ्जबाट जुम्लातर्फ उडान भरी उनीहरूको उद्धार गरिएको हो । उक्त उद्धार उडान कार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहल रहेको निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

उद्धार उडानका चालक कप्तान रक्षित मल्ललगायत सम्पूर्ण उडान दल, कर्मचारी, सहयोगी निकाय एवम् समस्त सहयोगी हातप्रति निगमका कार्यकारी अधिकारीले आभार प्रकट गरेको विज्ञप्तिमा जनाइएको छ । ‘यस्ता उद्धार कार्यमा सहभागी हुन र राज्यको सशक्त उपस्थिति देखाउन राष्ट्रिय ध्वजावाहकको आवश्यकता र महत्व अझै टड्कारो रुपमा देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

Tags

छुटाउनु भयो कि ?