टप खबर

रवि लामिछानेको आक्रोश : कांग्रेस पनि दूधले नुहाएको पार्टी होइन, ममाथि उठेका प्रश्नको जवाफ कामबाट दिनेछु

Lumbinikhabar Online

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूमाथि परेको सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा माग्नु बेठीक भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्न माग गरेका थिए । संसद बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री लामिछानेले कांग्रेसले सामान्य उजुरीमा नै संसदीय छानबिन माग गरेर गलत अभ्यास सिकाउन खोजेको टिप्पणी गरे ।

‘एउटा पूरक, ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली कांग्रेस दुधले नुहाएको पार्टी हो कि होइन भन्ने कुरा नेपाली जनताले बुझेका छन् । ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु । हामीले कामले जवाफ दिने हो’, उनले भने ।

उपप्रधानमन्त्री लामिछानेले आफ्ना विषयमा कांग्रेसले अनावश्यक विवाद झिकेको आरोप लगाए । ‘संसदीय छानबिन समिति माग गरिएको छ, त्यो उहाँहरुले माग्ने कुरा हो । माग्ने कुरा आफ्नो ठाउँमा छ । कुन ढंगले जान्छ हेरौँ । विवाद हुनु र गराइनु फरक छ’, उनले भने ।

लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ कामबाट दिने बताए । ‘मैले केही भन्नै पर्दैन नि । कामले बोलिरहेको छैन र ?अस्ति नै पो प्रतिपक्षमा थिएँ, बोल्नुपर्ने थियो, भन्नुपर्ने थियो, अब त सरकारमा छौँ, प्रत्येक दिन गरिएको कामले आफैँ बोलेको छ, जस्तो लागेको थियो, तर साथीहरुको प्रश्न त सकिएको छैन जस्तो छ’, उनले भने ।

Tags

छुटाउनु भयो कि ?