टप खबर

दाग लागेका मन्त्रीलाई घर पठाऔँः महामन्त्री थापा

Lumbinikhabar Online

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्तालाई पार्टीमा राख्नु नहुने बताएका छन् । बिहीवार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका कांग्रेसका नेता, कार्यकर्ताहरुलाई पार्टीमा ठाउँ दिन नहुने बताए । थापाले दाग लागेका मन्त्रीहरुलाई घर पठाउनुपर्ने बताए ।

 

‘काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिउँ । दाग लागेको मन्त्रीलाई घर पठाऔँ । अनि काम गरेर देखाऔँ काँग्रेसले । काम गर्न नसक्ने वडा अध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भनेर भन्न सक्नुपर्छ । भ्रष्टाचारमा मुछिएका एउटा मान्छेलाई काँगेसले वरिपरि राख्दिनँ भनेर भन्न सक्नुपर्छ । भन्नुपर्छ । त्यसपछि हाम्रो शक्ति आफैँ बढ्दै जान्छ ।’ थापाले भने । ०८४ मा चुनाव जितेर सरकार बनाउँछौ भन्ने होइन, अहिले नै सरकारमा रहेकोले राम्रो काम गर्नुपर्नेमा महामन्त्री थापाले जोड दिए ।

 

‘हामी अहिले सरकारमा छौँ । राम्रोसँग काम गरौँ । आम नागरिक आज सरकारसँग सुशासन र डेलिभरीको कुरा खोजिरहेका छन् । भ्रष्टाचारीहरु नउम्कियोस् । ठूलो माछाहरु समातियोस् । यसको निम्ति कानुन बनोस् । बनेको कानून बदल्नुपर्छ भने बदलियोस् । ०४६ साल पछाडी प्रत्येक सार्वजनिक जीवनमा बसेको मान्छेको सम्पत्ति छानविन होस् भन्ने कानून नेपाली काँग्रेसको पहलकदमीमा यहीँ संसदबाट बनाएर सुशासनको सन्दर्भमा हामीले देखाउनुपर्ने छ ।’ थापाले भने, कतिपय ठाउँमा दाग लागेको छ । दाग पुछ्नका लागि ऐन पुछेर हुँदैन । दाग हामी आफैँले मेटाउनुपर्छ । हाम्रो घरलाई ठिक बनाइसकेपछि अनि बलियोसँग उभिएको काँग्रेसले नेताको नाममा सहकारी ठग्नेहरुलाई ठिक ठाउँमा लिएर आउँछ । जग्गा किर्ते गर्नेहरुलाई ठिक ठाउँमा ल्याउँछ । नागरिकता किर्ते गर्नेहरुलाई ठिक ठाउँमा ल्याउँछ । ’

 

काँग्रेस सरकारमा रहेकाले जनतालाई सुशासन र डेलिभरी दिन सक्नुपर्ने भन्दै कांग्रेसका मन्त्री र सांसदले हिसाब किताब दिनुपर्ने बताए । थापाले भने, डेलिभरी गर्ने हाम्रो काम हो । जिम्मामा भएका हाम्रा सांसद मन्त्रीहरुले हिसाव किताव दिन सक्नुपर्छ । प्रत्येकले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्छ । हाम्रो कामबाट नागरिक खुशी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ । ’

Tags

छुटाउनु भयो कि ?