टप खबर

त्रिभुवन विमानस्थलमा आर्थिक वर्ष २०७९/८० मा ११ अर्ब राजस्व सङ्कलन

Lumbinikhabar Online

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाईयात्रा गर्ने यात्रुको सङ्ख्या पनि बर्सेनि बढिरहेको छ ।

विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ । विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९-८० मा ११ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । चालु आवमा रु १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म रु छ अर्ब ७६ करोड राजस्व उठेको उल्लेख गरेको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थल पूर्णक्षमतामा सञ्चालनमा आएको, अन्तर्राष्ट्रिय हवाई यात्रु बढेको तथा विमानस्थल सुधारका समग्र प्रयासबाट राजस्व क्रमशः बढिरहेको उल्लेख गरे। विमानस्थलले यात्रुसेवा शुल्कबापत, कोठा र सटर बाहल तथा जहाजको अवतरण, बिसानलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ ।

विमानस्थलले आव २०७७-७८ मा दुई अर्ब ४६ करोड राजस्व उठाएको थियो । कोभिड-१९ का कारण उक्त वर्ष राजस्व घटेको विमानस्थलले उल्लेख गरेको छ । कोभिडपछि विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ ।

Tags

छुटाउनु भयो कि ?