बिजनेस

पानी व्यवसायीहरुले मूल्य नबढाउने

Lumbinikhabar Online

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागसँग पानी व्यवसायीहरुले मूल्य नबढाउने सहमति गरेका छन्।

सोमबार वाणिज्य विभागसँग भएको छलफलमा पानी व्यवसायीहरुले मूल्य नबढाउने सहमति गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता रविन्द्र आर्चायले जानकारी दिए।

व्यवसायीहरुले बढाएको मूल्य फिर्ता गर्ने गरी सार्वजनिक रुपमा वक्तव्य निकाल्ने सहमति भएको उनले बताए।

उनले भने, ‘हामीले व्यवसायीहरुसँग एक पटकलाई छलफल गर्‍यौँ। उनीहरुले पनि सार्वजनिक रुपमा मूल्य फिर्ता लिने वक्तव्य निकाल्ने सहमति जनाए। सोही आधारमा एक पटकलाई छोडेका छौँ। हाम्रो टोली अनुगमन गरिरहेको छ। अझै बढी मूल्य लिएको पाएमा कारबाही हुन्छ।’

मूल्य वृद्धि गर्ने व्यवसायीहरुलाई एकवर्ष जेल वा ३ लाख रुपैयाँ जरिवाना या दुवै सजाय हुने उनले बताए। उनका अनुसार व्यवासयीहरुसँग आफूखुसी मूल्य वृद्धि गर्ने कानूनी अधिकार छैन।

यस्तै उनले संसदीय समितिमा पानीको मूल्य वृद्धिको विषयमा परेको उजुरीमाथि थप निर्णय नभएसम्म मूल्य वृद्धि नगर्ने सहमित भएको बताए। उनले अब पूरानै मूल्यमा जार तथा बोतलको पानी खरिद गर्न सकिने बताए।

उनले पानी व्यवसायहरुले बढी मूल्य लिएमा उपभोक्ताहरुले सम्बन्धित निकाय तथा विभागमा जानकारी दिन आग्रह गरे। नेपाल वोटल वाटर उद्योग संघले एकतर्फी रुपमा असोज १८ गते परिपत्र जारी गरी मूल्य बढाएको थियो।

Tags

छुटाउनु भयो कि ?