टप खबर

ट्रम्पले स्टेट अफ हर्मोजलाई अमेरिकाको क्षेत्र घोषणा गर्ने भनेपछि इरानको कडा चेतावनी

Lumbinikhabar Online

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हराएपछि होर्मुज जलमार्गलाई अमेरिकाको ‘क्षेत्र’ घोषणा गरिने बताएका छन् । शुक्रबार न्युयोर्कमा रिपब्लिकन पार्टीको र्‍यालीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अमेरिका र इरानबीच करिब ६ महिनादेखि जारी संघर्ष अन्त्यका निम्ति सम्झौताको प्रयास भइरहेको छ । यही बेला ट्रम्पको यो अभिव्यक्तिपछि इरानले पनि कडा प्रतिक्रिया जनाएको छ ।

इरानका सहायक विदेशमन्त्री काजेम गरीबाबादीले ‘होर्मुज इरानको थियो, छ र रहनेछ’ भनेका छन् । कुनै ‘ट्विट’ वा चुनावी भाषणका भरमा यसलाई कब्जा गर्न नसकिने उनको भनाइ छ । इरान धम्कीसँग नडराउने र कुनै शक्तिका अगाडि नझुक्ने उनले बताएका छन् ।

इरानलाई ट्रम्पले ‘दुष्ट सोचले भरिएको देश’ भनेका छन् । युद्ध जारी रहँदासम्म अमेरिकी जनताले महँगो पेट्रोलका निम्ति तयार रहनुपर्ने उनले बताए । उनले इरानलाई परमाणु हतियार बनाउनबाट रोक्न अमेरिकी जनताले पेट्रोलका निम्ति केही बढी मूल्य तिर्न तयार हुनुपर्नेमा जोड दिएका हुन् ।

अमेरिकामा शुक्रबार पेट्रोलको औसत मूल्य ४.०८ डलर प्रतिग्यालन पुगेको थियो । एक वर्षअघि यो ३.१६ डलर प्रतिग्यालन थियो । अर्थात्, एक वर्षमा पेट्रोलको मूल्य करिब २९ प्रतिशतले बढेको छ । ट्रम्पले यसअघि पनि होर्मुज स्ट्रेटमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको बताएका थिए । यसलाई आफ्नो नियन्त्रणमा राखिरहने उनले जिकिर गरेका थिए ।

सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा उनले अमेरिकी नौसैनिक नाकाबन्दीलाई ‘स्टिलको पर्खाल’को संज्ञा दिँदै इरानसँग यसको सामना गर्ने कुनै उपाय नभएको बताएका थिए । उनले तेहरानको सैन्य संरचना पनि नराम्ररी कमजोर भइसकेको जिकिर गरेका थिए । ट्रम्पको भाषणलगत्तै इरानले उनको दाबी खारेज गरिदिएको छ । इरानले होर्मुज जलमार्ग अझै बन्द रहेको र आफ्ना सर्त पूरा नभएसम्म पुनः नखोलिने जनाएको छ ।

होर्मुज जलमार्ग खोल्ने बदलामा इरानले अमेरिकासामु विभिन्न सर्त राखेको छ । इरानको सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका सचिव मोहम्मद बागेर जोल्घदारले अमेरिकाले युद्ध स्थायी रूपमा अन्त्य गर्नुपर्ने, इरानमाथिको समुद्री नाकाबन्दी हटाउनुपर्ने, उक्त क्षेत्रबाट आफ्ना सैनिक फिर्ता बोलाउनुपर्ने, इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, विदेशमा रोकिएका इरानी सम्पत्ति फिर्ता गर्नुपर्ने, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने र इरानका सहयोगी समूहविरुद्ध सैन्य कारबाही बन्द गर्नुपर्ने माग अघि सारेका छन् ।

Tags

छुटाउनु भयो कि ?