नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति भएको छ।
शनिबार भएको सहमतिअनुसार दुई दलले प्रदेशसभामा संयुक्त रूपमा सरकार गठन गर्दै सत्ता साझेदारी गर्ने भएका छन्।
सहमतिपत्रमा पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्य उल्लेख गरिएको छ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने सहमति भएको छ।
मधेश र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति गरिएको छ।
सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन्।

