मनोरन्जन

मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुल्यो

Lumbinikhabar Online

काठमाडौं- नेपाली विवाहित महिलाहरूको प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला गरिएको छ।
आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रालिले बुधबार ललितपुरकोे पुल्चोकस्थित द स्क्वायर होटलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको औपचारिक घोषणा गर्दै योग्य तथा इच्छुक नेपाली महिलालाई प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा, क्षमता र व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न आह्वान गरेको छ।
महिला सशक्तीकरण, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सामाजिक उत्तरदायित्व तथा प्रतिभा प्रदर्शनको सशक्त मञ्चका रूपमा स्थापित मिसेस नेपाल वर्ल्डले एक दशकदेखि नेपाली विवाहित महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ।
पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले यस वर्षको प्रतियोगिता अझ भव्य, व्यवस्थित तथा अन्तर्राष्ट्रिय स्तरको बनाइने जानकारी दिए। उनले भने, ‘मिसेस नेपाल वर्ल्ड केवल सौन्दर्य प्रतियोगिता मात्र होइन, नेपाली महिलाको नेतृत्व, क्षमता, आत्मविश्वास र सामाजिक योगदानलाई विश्वसामु प्रस्तुत गर्ने अभियान हो। हामी यस संस्करणलाई अझ प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रतिबद्ध छौंँ।’
उनका अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण २३ गते काठमाडौंको नयाँ वानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा गरिनेछ। प्रतियोगितामा सहभागी हुन उचाइ वा तौलको कुनै सीमा तोकिएको छैन। न्यूनतम एसईई/एसएलसी वा सो सरह उत्तीर्ण विवाहित तथा एकल महिलाले देश विदेशबाट आवेदन दिन सक्नेछन्। आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्ट प्रालिको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने व्यवस्था गरिएको छ।
अडिसनबाट छनोट भएका प्रतियोगीहरूलाई व्यक्तित्व विकास, सञ्चारकला, नेतृत्व, सार्वजनिक प्रस्तुति, र्याम्प वाक, फिटनेस, सामाजिक उत्तरदायित्व तथा विभिन्न जीवनोपयोगी विषयमा अनुभवी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूद्वारा विशेष प्रशिक्षण प्रदान गरिनेछ। प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कार्तिक १४ गते काठमाडौंमा भव्य रूपमा आयोजना गरिने आयोजकले जनाएका छन्।
प्रतियोगिताका कोरियोग्राफरका रूपमा आश्विनीकान्त झा रहनेछन् भने नृत्य कोरियोग्राफी सन्दीप भुजेलले सम्हाल्नेछन्। प्रतियोगिताको समन्वय गंगा महर्जन, सम्राट शाह र बिन्दिया श्रेष्ठले गर्नेछन्। कोरियोग्राफर अश्विनीकान्त झाले प्रतियोगिताको सहभागीताबाट महिलाले विभिन्न ज्ञान हासिल गर्ने बताए। सल्लाहकार तथा पत्रकार विदुर गिरीले बिबाहित महिलाको सौन्दर्य प्रतियोगिता भन्नासाथ मिसेस नेपाल वर्ल्डका रुपमा स्थापित भएको चर्चा गरे। कानुनी सल्लाहकार अभिनेता तथा अधिवक्ता कृष्ण ढुंगानाले यो प्रतियोगिताले महिला शसक्तिकरणमा सघाउ पुर्‍याईरहेको बताए। मिसेस नेपाल वर्ल्ड २०२५ रक्षा पन्त र मिसेस नेपाल इन्टरनेशनल २०२५ सञ्जु भट्टले प्रतियोगिताको यात्रा र त्यस क्रममा सिकेका ज्ञानको बारेमा चर्चा गरे।
मिसेस नेपाल वर्ल्ड २०२६ कै मञ्चबाट मिसेस नेपाल इन्टरनेशनल २०२६, एमएस इन्टरनेशनल २०२६ तथा मिसेस नेपाल कोस्मो २०२६ पनि चयन गरिनेछ। मिसेस नेपाल वर्ल्ड २०२६ की विजेताले आगामी वर्ष संयुक्त राज्य अमेरिकामा आयोजना हुने मिसेस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।
यस वर्षदेखि आयोजक संस्थाले आफ्नो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको विस्तार गर्दै नयाँ राष्ट्रिय उपाधि ’मिसेस नेपाल कोस्मो २०२६ समेत समावेश गरेको छ। यस उपाधिकी विजेताले म्यानमारमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस कोस्मोमा नेपालको आधिकारिक प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। यस नयाँ फ्रेन्चाइजमार्फत नेपाली विवाहित महिलालाई अर्को प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा, व्यक्तित्व, नेतृत्व क्षमता तथा नेपाली संस्कृति विश्वसामु प्रस्तुत गर्ने अवसर प्रदान हुने आयोजकको विश्वास छ।
रिबन इन्टरटेनमेन्ट प्रालिले विगतदेखि नै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित गर्दै आएको जनाएको छ। यसै क्रममा सञ्जु भट्टाले संयुक्त राज्य अमेरिकामा आयोजित मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान प्रभावशाली रूपमा प्रस्तुत गरेकी थिइन्। त्यसअघि पृथ्वीया थापाले मिसेस वर्ल्ड २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्ठित ह्युम्यानिटेरियन अवार्ड प्राप्त गरी नेपाललाई अन्तर्राष्ट्रिय सफलता दिलाएकी थिइन्।
आयोजकले यस्ता उपलब्धिले नेपाली महिलाको क्षमता, नेतृत्व र अन्तर्राष्ट्रिय सम्भावनालाई थप उजागर गर्नुका साथै विश्वमञ्चमा नेपालको प्रतिष्ठा अझ उँचो बनाउन योगदान पुर्‍याउने विश्वास लिएका छन्।

Tags

छुटाउनु भयो कि ?